News सहज जितका साथ झरना क्वाटरफाइनलमा
सुरज राना मगर

करौजिया । सहज जित हात पार्दै झरना स्पोर्टस् क्लब, कुन्जलापुर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठांैं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१३ करौजिया स्थित न्यु सृजना खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले सन्जिवनी युवा क्लब, कुन्जलापुरलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

झरनाको जितमा कमल भट्टराईले दुई गोल गरे । त्यस्तै रोहित सुनार र रोहित पुन मगरले थप एक–एक गोल गरे । खेलमा झरनाका लागि दुई गोल गरेका कमल भट्टराई म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन ११ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र तिलोत्तमा–११, तिलोत्तमा बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए ।

कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन २६ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments