News आयोजक न्यु सृजना क्वाटरफाइनलमा
सुरज राना मगर

करौजियो । संघर्षपुर्ण जितका साथ आयोजक न्यु सृजना युवा क्लब, करौजिया यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु सृजनाले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको २२औं मिनटमा कप्तान अमन थापाले नवयुवाका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि खेलको ६६औं मिनटमा प्रशन्न श्रेष्ठले न्यु सृजनाका लागि बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने न्यु सृजनाले नवयुवामाथि ३–१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । खेलमा न्यु सृजनाका गोलरक्षक तथा कप्तान बिष्णु पल्ली मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन १४ गते सोमबारको प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र न्यु राईज युथ क्लब, बभनी बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या। नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

 

Post Comments