News आहा! रारा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी भण्डारीले पाए पुरस्कार
गोलनेपाल

पोखरा । तीन महिना अघि पोखरामा सम्पन्न १८औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका नेपाल पुलिस क्लबका अजित भण्डारीले ढिलै भए पनि पुरस्कार पाएका छन् ।

आइतबार एक कार्यक्रमका बीच सिताज लाईफस्टाइलका निर्देशक आशिष श्रेष्ठले पुरस्कार वापतको एक थान स्कुटर र चाबी भण्डारीलाई हस्तान्तरण गरे । आयोजक सहारा क्लबका अनुसार उक्त पुरस्कार भण्डारीले यथाशिघ्र दिने प्रयास गरे तापनि कोभिड–१९ महामारीका कारण देशभर लकडाउन भएपछि हस्तान्तरणमा ढिलाई भएको जनाएको छ ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा तथा पूर्व अध्यक्ष बिक्रम थकालीको पनि उपस्थिति रहेको थियो । पुरस्कार हस्तान्तरण गरेपछि क्लबका अध्यक्ष थापाले ढिलै भए पनि पुरस्कार सम्बन्धित खेलाडीलाई हस्तान्तरण गर्न पाउँदा एउटा जिम्मेवारी पूरा गरेको महशुस भएको प्रतिक्रिया दिए ।

उता स्कुटर पाएका भण्डारीले पनि खुशी व्यक्त गरे । भण्डारी भने, "ढिलै भए पनि पुरस्कार पाएँ । देशको वर्तमान परिस्थितिले पनि ढिलाई भएको क्लबले बतायो । जे भए पनि पुरस्कार पाएकोमा खुशी छु ।"

Post Comments