News साफ च्याम्पियनसिप स्थगित
गोलनेपाल

काठमाडौं । यसै बर्ष हुने भनिएको दक्षिण एसियाली फुटबलको कुम्भमेला साफ च्याम्पियनसिप स्थगित गरिएको छ । दक्षिण एसियाली फुटबल फेडरेशन (साफ) का सदस्य राष्ट्रहरुको महासचिवस्तरीय डिजिटल बैठक (भिडियो कन्फिरेन्स) ले उक्त निर्णय गरेको हो ।

बैठकमा उपस्थित सबै सदस्य राष्ट्रका महासचिवहरुले आ–आफ्नो राय, सुझाव प्रकट गरेका थिए । सो अवसरमा साफ यु–१५ च्याम्पियनसिप, साफ यु–१५ महिला च्याम्पियनसिप तथा साफ यु–१८ महिला च्याम्पियनसिपबारे पनि छलफल भएको थियो ।

उक्त बैठकको निर्णयअनुसार प्रतिष्ठित साफ च्याम्पियनसिप २०२० स्थगित गरिएको छ । ुसाथै उक्त च्याम्पियनसिप सन् २०२१ मा हुने समेत बताइएको छ । स्मरण रहोस, यस बर्ष साफ च्याम्पियनसिप बंगलादेशमा यहि आउँदो सेप्टेम्बर १९ देखि ३० तारीखसम्म आयोजन हुने कार्यक्रम थियो ।

सन् २०१८ मा सम्पन्न साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले दोस्रोपटक जित्न सफल भएको थियो । त्यतिबेला माल्दिभ्सले फाइनलमा दावेदार भारतलाई २–१ ले हराउँदै उपाधि उचालेको थियो । त्यसबेला नेपाल भने सेमिफाइनल मै माल्दिभ्ससँग ३–० ले पराजित हुन पुगेको थियो ।

त्यस्तै सोमबार नै सम्पन्न बैठकले अन्य साफ स्तरीय युथ च्याम्पियनसिपबारे भने सेप्टेम्बरमा बस्ने साफको अर्को बैठकले निर्णय गर्ने बताइएको छ ।

हाल विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नै यसपटकको साफ च्याम्पियनसिप स्थगित गरिएको हो ।

Post Comments