News एकतर्फी जितका साथ मच्छिन्द्र फाइनलमा
गोलनेपाल

काठमाडौं । एकतर्फी जित निकाल्दै साविक विजेता मच्छिन्द्र फुटबल क्लब जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले मानेभञ्ज्याङ फुटबल क्लब, दार्जिलिङलाई ५–० ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

दशरथ रंगशालामा भएको खेलको २६औं मिनटमा बिमल घर्ती मगरको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता लिएको थियो । त्यसको दुई मिनट लगतै स्टेफन बिनोङले त्यो अग्रता दोब्बर पारे । ३६औं मिनटमा हिसुब थपलियाले तेस्रो गोल थपे ।

पहिलो हाफसम्म ३–० को अग्रता कायम राखेको मच्छिन्द्रले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५३औं मिनटमा देवेन्द्र तामाङले चौथो गोल गर्दा इन्जुरी समयमा आयुष घलानले पाँचौं गोल गर्दै मच्छिन्द्रको सहज जित सुनिश्चित गरे ।

मच्छिन्द्रले अब उपाधिका लागि फागुन १९ गते हुने फाइनलमा न्युरोडटिम (एनआरटी) को सामना गर्नेछ । एनआरटीले बिहीबार नै पहिलो सेमिफाइनलमा जावलाखेललाई ३–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

 

Post Comments