News आर्मी पाँचथर गोल्डकपको फाइनलमा
रमेश समदर्शी

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग फेरि झापा ११ एफसी स्तब्ध भएको छ ।

फिदिममा जारी चौथो पाँचथर गोल्डकपको अन्तिम सेमिफाइनलमा झापाविरुद्ध टाइब्रेकरमा आर्मी भाग्यमानी सावित भयो । आज भएको खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । यसअघि झापा गोल्डकपको फाइनलमा ४ पटक भेट हुँदा आर्मी विजेता बनेको टोली हो । पाँचपटक फाइनलमा पुगेको झापाले आर्मीलाई पराजित गर्न सकेको छैन । पाँथर गोल्डकपको दोस्रो हाफमा आर्मीका दिप लामाले गोल गरेर अग्रता बनाएका थिए ।

मध्यान्तरमा मैदान प्रवेश गरेका दिप लामाले दोस्रो हाफको ३ मिनेटमा गोल गरेका हुन् । झापाको बराबरी गोलका लागि प्रदिप बुढाथोकीले पेनाल्टीमार्फत गोल गरेका हुन् । झापाले दोस्रो हाफको १७औँ मिनेटमा पेनाल्टी पाएको थियो । खेल बराबरीमा ल्याइपुराए पनि झापाको टाइब्रेकर प्रहार खराब रह्यो । अन्ततः आर्मी टाइब्रेकरमा ३-० गोलले विजयीहुँदै फाइनलमा प्रवेश गर्यो ।

झापाका कप्तान पेमा तामाङको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा विशाल तामाङको प्रहार साइड पोलमा लाग्दै भित्रियो । यस्तै, रोजिन माझीको प्रहार आर्मीका गोलरक्षक नविन परियारले रोकेका थिए । आर्मीका लागि दिप लामा, सन्तोष केसी र मानबहादुर आलेको प्रहार गोलमा परिणत भएको थियो ।

आर्मीका दिप लामा म्यान अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भए । आर्मीले अब फागुन १९ गते फाइनल खेलमा आयोजक पाँचथर क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार र दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Post Comments