News स्टार सिटी ब्वाईज युनियनलाई गौरीगंगा गोल्डकपको उपाधि
गोलनेपाल

गौरीगंगा । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी ब्वाईज युनियनले जितेको छ । फाइनलमा फार वेस्ट पशुपती युथ क्लबलाई ५–० को गोलअन्तरले हराउँदै स्टार सिटी ब्वाईज युनियन च्याम्पियन बनेको हो ।

बिहीबार गौरीगंगा खेलमैदानमा भएको फाइनल भिडन्तमा स्टार सिटी ब्वाईज युनियनका लागि कमल देउवाले ह्याट्रिकसहित एक्लैले चार गोल गरे । त्यस्तै थप एक गोल भुपेन्द्र शाहीले गरे ।

विजेता बनेको स्टार सिटी ब्वाईज युनियनले उपाधिसहित नगद ६ लाख हात पार्यो भने फार वेस्ट पशुपतिले नगद ३ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनलमा ह्याट्रिकसहित चार गोल गरेका स्टार सिटी ब्वाईज युनियनका कमल देउवा फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ फार वेस्टका अमानत शेख उत्कृष्ट गोलकिपर, स्टार सिटीका नरेन्द्र चौधरी उत्कृष्ट डिफेन्डर, स्टार सिटीका अभिनाष थापा उत्कृष्ट मिडफिल्डर र स्टार सिटीकै कमल देउवा उत्कृष्ट फरवार्ड,
घोषित भए ।

गौरीगंगा ११ का निराजन धामी उदीयमान खेलाडी घोषित भए । विधागततर्फका उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।

समापन कार्यक्रमको अवसरमा बोल्दै प्रतियोगिताको चौथो संस्करण सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई आयोजक गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगाका अध्यक्ष दिनेश कलेलले आभार सहित धन्यवाद समेत व्यक्त गरे ।

Post Comments