News घैरुङ एफसी भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा
गोलनेपाल

चितवन । टाइब्रेकरमा गोलकिपर किशोर कोइराला हिरो बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पेङ्गुइन भरतपुर २४ लाई टाइब्रेकरमा ३-१ ले हराउँदै घैरुङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ को दुई प्रहार रोकेका थिए भने एउटा बारमा लागेको थियो ।

त्यसअघि निर्धारित समयमा १-१ को बराबरी भएको थियो । भरतपुर २४ ले खेलमा अग्रत्ता लिए पनि जोगाउन सकेन । खेलको १५ औं मिनेटमा मनिष गिरीले सुन्दर फ्री किक गोलमा भरतपुर २४ लाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै घैरुङ खेलमा फर्कियो । ३० औं मिनेटमा सन्जय श्रेष्ठले बराबरी गोल फर्काए । विङ्गर सुरेश कुमालको क्रसमा सन्जयले सुन्दर हेडर गोल गरे । खेलमा थप गोल हुन सकेन र टाइब्रेकरमा धकेलियो । जसमा घैरुङ विजयी भयो । घैरुङका गोलकिपर किशोर म्यान अफ दि म्याच भए ।

घैरुङले अब फाइनल प्रवेशका लागि चैत ६ गते सेन्ट्रल कलेज २८ बिगाको सामना गर्नेछ । २८ बिगा यसअघि पहिलो क्वाटरफाइनलमा हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार तेस्रो क्वाटरफाइनल खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा रामपुर एफसी रड्स र आबुखैरहनी गाउँपालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Post Comments