News न्यु राईज सेमिफाइनलमा
गोलनेपाल

ओमसतिया । न्यु राईज युथ क्लब, बभनी यहाँ जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा न्यु राईजले बिग बुद्ध क्लब, सुनवललाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल दुवै टोलीले गोलरहित बराबरी खेले । टाईब्रेकरमा भने न्यु राईजले बिग बुद्धमाथि ४–३ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।

खेलमा पेनाल्टी शुटआउटतर्फ विपक्षीका दुई प्रहार रोकेका न्यु राईजका गोलरक्षक युगल थापा मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत ६ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक नवयुवा क्लब र आहना एफसी बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments