News खेलाडी संघ र बिएण्डबीको सहकार्यमा निरको निःशुल्क शल्यक्रिया
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल खेलाडीहरुको हक, हित र अधिकारका लागि काम गर्ने उद्देश्यका साथ स्थापित नेपाल फुटबल खेलाडी संघले केही महिना अघि फुटबल खेलाडीहरु कै लागि भनेर नेपालको चर्चित बिएण्डबी अस्पतालसँग सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुरुप आर्थिक रुपमा कमजोर रहेका फुटबल खेलाडी निर बहादुर आलेको सफल निःशुल्क शल्यक्रिया बिएण्डबी अस्पतालमा सम्पन्न भएको छ । आलेको घुँडाको शल्यक्रिया सफल रुपमा सम्पन्न गरिएको हो ।

खेलाडी संघका अध्यक्ष बिक्रम लामाका अनुसार बिएण्डबी अस्पतालसँग सम्झौता भए अनुसार नै खेलाडी आलेको निःशुल्क रुपमा सफल शल्यक्रिया सम्भव भएको बताए । साथै उनले अस्पताल परिवारलाई यो सहकार्यका लागि आभार र धन्यवाद समेत दिए ।

उता शल्यक्रिया पश्चात् स्वास्थ्य लाभ गरिरहेका निर बहादुर आलेले पनि खेलाडी संघ र अस्पताललाई धन्यवाद दिए । स्मरण रहोस, खेलाडी आले यसै वर्ष नवलपुरमा भएको राइनो संरक्षण गोल्डकप खेल्ने क्रममा चोटिल बनेका थिए ।

Post Comments