News कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान कप सुरु
उमेश पुन

पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।

पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ ।

मालेपाटन एफसीले लेकसाइड सेतोलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । मालेपाटनको जीतमा राजकुमार भुजेलले निर्णायक गोल गरे । सो खेलबाट अमृत गुरुङ म्यान अफ द म्याच बने ।

यस्तै दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्‍यो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

ट्राइबेकरमा एनए भेट्रानका गोलरक्षक विकास गुरुङले टेन इलभेन एफसीको प्रहारलाई रोक्दै जीत सुनिश्चित गर्दै म्यान अफ द म्याच बने ।

तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्याे । सविनको जीतमा सुवास केसी र विशाल गुरुङले समान १ गोल गरे भने बागलुङका लागि कुशल खड्काले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनुप राना म्यान अफ द म्याच बने ।

चौथो खेलमा एट टु नाइन एफसीले गार्डेन एफसीलाई २–१ गोल अन्तरले हरायो । एट टु नाइनको जीतमा दुवै गोल नरेश केसीले गरे भने गार्डेनका सन्तोष केसीले सान्त्वना १ गोल फर्काए । सो खेलबाट एट टु नाइनका नरेश केसी म्यान अफ द म्याच घोषित भए ।

यसैगरी अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा सुमन पुन र इश्वर गुरुङले समान १ गोलको योगदान दिए । सो खेलबाट सुमन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

आगामी ९ गते सम्पन्न हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Post Comments