News फिफा विश्वकप २०२२ को खेल मिति घोषणा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दुई बर्षपछि एसियाली राष्ट्र कतारमा हुन गईरहेको बहुप्रतिष्ठित फिफा विश्वकप २०२२ को खेल आयोजना हुने मिति घोषणा गरिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रतियोगिताको खेल मिति घोषणा गरेको हो । १८ बर्षपछि फेरि एसियामा फर्किएको फुटबलको महाकुम्भमेला सन् २०२२ को २१ नोभेम्बरदेखि शुरु हुने भएको हो ।

स्मरण रहोस, यसअघि पहिलोपटक सन् २००२ मा जापान–दक्षिण कोरियाले संयुक्त रुपमा फिफा विश्वकपको सफलताका साथ आयोजना गरेका थिए । यद्यपि मध्य–पूर्वी एसियामा फिफा विश्वकप हुन लागेको यो नै पहिलो पटक हुनेछ ।

कतारको विभिन्न आठ शहरहरुमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने १८ डिसेम्बरका दिन हुनेछ । उद्घाटन खेलमा आयोजक कतारको खेलसँगै प्रतियोगिताको २२औं संस्करण शुरु हुनेछ ।

फिफाका अनुसार प्रतियोगिताको समूह चरणका खेलहरु हुँदासम्म प्रत्येक दिन चार खेलहरु हुने बताइएको छ । योसँगै समूह चरणका खेलहरु १२ दिनमै सम्पन्न हुनेछन् । जसले गर्दा नकआउट चरणमा पुगेका टोलीहरुलाई प्रर्याप्त आराम गर्न समय पुग्ने बताइएको छ ।

प्रतियोगिताको तेस्रो स्थानका लागि हुने प्ले अफ म्याच १७ डिसेम्बरका दिन दोहा स्थित खलिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । त्यस्तै फाइनल म्याच भने १८ डिसैम्बरका दिन अर्को महत्वपुर्ण शहर लुसैल स्थित लुसैल स्टेडियममा हुनेछ । स्टेडियमको दर्शक क्षमता ८० हजार रहेको बताइएको छ ।

प्रतियोगिताको महत्वपुर्ण पक्ष भनेको विश्वकपको इतिहास मै कतार विश्वकप पहिलोपटक जाडो मौसममा हुने तय भएको छ । यसअघि सम्पन्न भएका प्रतियोगिताहरु गर्मी मौसममा हुँदै आएका थिए ।

त्यस्तै फिफाले प्रतियोगिताको टिकट बिक्री सर्वसाधारणका लागि अनलाईनमार्फत आउने दिनहरुमा खुला गर्ने र त्यसबारे जानकारी समेत दिने स्पष्ट पारेको छ ।

नेपाली दर्शकहरुलाई पनि सहज

यसअघिका हरेक जसो विश्वकपका खेलहरु मध्यरातमा वा रातीको समयमा हेर्नुपर्ने नेपाली फुटबल समर्थकहरुलाई कतार विश्वकपका बेला भने सहज हुने भएको छ ।

कतारको स्थानीय समयअनुसार खेलहरु हुँदा नेपालमा त्ष्यति सारो रात नपर्ने भएकाले नेपाली फुटबल समर्थकहरुले कतार विश्वकपतर्फका सबैजसो खेलहरु सहज रुपमा हेर्न पाउने अनुमान गरिएको छ ।

Post Comments