News कन्ट्रोल लुब्रिकेन्ट्स १४औं इटहरी गोल्डकप शुरु, सगरमाथाको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शनिबारदेखि रात्रीकालिन रुपमा शुरु भएको कन्ट्रोल लुब्रिकेन्ट्स १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा साविक विजेता सगरमाथा युथ क्लब, मोरङले विजयी शुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा सगरमाथाले एपिएफ फुटबल क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । सगरमाथाको जितमा बिमल घर्ती मगरले दुई गोल गरे भने थप एक गोल स्टेफन बिनोङले गरे । उता पराजित एपिएफका लागि अनिष महर्जनले एक मात्र गोल फर्काएका थिए ।

खेलमा दुई गोल गरेका सगरमाथाका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । यो जितसँगै सगरमाथा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत ११ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब, इटहरी र कञ्चनजंगा फुटबल क्लब, भारत बीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गतेका दनि हुनेछ ।

Post Comments