News सन्जिवनीलाई ११औं नवयुवा कपको उपाधि
सुरज राना मगर

ओमसतिया । यहाँ सम्पन्न ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सन्जिवनी युवा क्लब, देवीनगरले जितेको छ । फाइनलमा सन्जिवनीले न्यु राईज युथ क्लब, बभनीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको फाइनल भिडन्तमा सन्जिवनीका लागि फागुराम थारुले ह्याट्रिक गरे । विजेता बनेको सन्जिवनीले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता न्यु राईजले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सन्जिवनीका निशान राना उत्कृष्ट गोलरक्षक चुनिए । सन्जिवनी कै फागुराम थारुले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे भने सन्जिवनी कै कप्तान अनुप बुढा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, ओमसतिया गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष बेल बहादुर बराल मगर, आयोजक क्लबका अध्यक्ष चन्द्र बहादुर गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments