News खेलाडीहरुलाई उदयपुर फुटबल संघद्वारा राहत वितरण
गोलनेपाल

गाईघाट । उदयपुर जिल्ला फुटबल संघले जिल्लामा आवद्ध रहेका फुटबल खेलाडी तथा आफू मातहतका स्वयमसेवीहरुलाई राहत हस्तान्तरण गरेको छ ।

यसअघि संघले गत असार १९ गतेका दिन महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बिषम परिस्थितिमा परेका खेलाडी तथा स्वयंसेवीहरुलाई राहत स्वरूप सहयोग गर्ने उद्देश्यले “कोभिड–१९ राहत वितरण तथा छानबिन उप–समिति गठन गरेको थियो ।

त्यसक्रममा उक्त उप–समितिले ५१ थान पारिवारिक आर्थिक सर्वेक्षण फारमहरु उपर छानबिन र अनुगमन गर्दा ३५ जनालाई उनीहरुको पारिवारिक आर्थिक अवश्थालाई मध्यनजर गर्दै फुटबल संघले सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप संघले आफ्नो गाईघाटस्थित राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालयको चेक काटी २८ जना पुरुषलाई दुई हजार, , ६ जना महिलाहरुलाई २५ सय र एक जना महिलालाई चार हजार गरि राहत रकम उपलब्ध गराइएको थियो ।

स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै आफू मातहतका जिल्ला फुटबल संघहरुलाई राहत स्वरुप जनही ७५–७५ हजारका दरले सहयोग उपलब्ध गराएको थियो । सोही राहत रकमबाट सम्बन्धित खेलाडी तथा स्वयंसेवीहरुलाई आर्थिक सहयोग गरिएको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले बताए ।

गाईघाट स्थित थरुहट उदयपुर रंगशालामा वितरण गरिएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कार्कीसहित त्रियुगा नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठ, संघकै उपाध्यक्ष ध्रुब बस्नेत, सदस्य( युबराज राई, उदय राई, राजेन्द्र राई, महासचिब मदन भुजेल, अखिल नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रिय सदस्य दिपक थापा र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Post Comments