News आयुष निर्णायक बन्दा मच्छिन्द्र बिराट गोल्डकपको फाइनलमा
गोलनेपाल

बिराटनगर । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी आठौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागन फुटबल क्लब, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

शहिद रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि आयुष घलानले एक मात्र निर्णायक गोल गरे । टोलीको जितमा निर्णायक गोलकर्ता बनेका मच्छिन्द्रका आयुष घलान नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

मच्छिन्द्रले चैत २४ गते हुने फाइनलमा घरेलु टोली सांग्रिला मोरङ फुटबल संघसँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, मोरङले बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफलाई हराउँदै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments