News चात्या सा पुस्तकालयलाई सातौं गोलबजार मेयर गोल्डकपको उपाधि
गोलनेपाल

गोलबजार । यहाँ सम्पन्न सातौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि चात्या सा पुस्तकालय, दमक, झापाले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा दश खेलाडीमा सिमित भएर पनि चात्या सा पुस्तकालयले गुरुधाम फुटबल क्लब, सिरहालाई ४–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

चात्या सा पुस्तकालयको जितमा जय गुरुङ, पारस कार्की, रोशन धिमाल र शिशिर लेखीले गोल गरे । उता पराजित गुरुधामका लागि यामीले एक मात्र गोल फर्काएका थिए । खेलको दोस्रो हाफमा चात्या सा पुस्तकालयका मिलन राईले रातो कार्ड खाँदै मैदान छाड्े तापनि टोलीको जितमा त्यसले खासै असर परेन ।

विजेता बनेको चात्या सा पुस्तकालयले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्यो भने उपविजेता गुरुधामले २ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । चात्या सा पुस्तकालयका पारस कार्की फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य व्यक्तिगत विधातर्फ चात्या सा कै आयुष लिम्बु उत्कृष्ट गोलरक्षक बन्दा गुरुधामका सौरव श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । चात्या सा पुस्तकालयका जय गुरुङ मिडफिल्डर घोषित हुँदा चात्या सा कै शिशिर लेखी उत्कृष्ट फरवार्ड बने ।

उत्कृष्ट प्रशिक्षक चात्या सा पुस्तकालय कै रमेश दाहाल बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार गुरुधामका यामीले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गुरुधाम एफसी कै कुलदिप कार्की घोषित भए ।

 

Post Comments