News मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि
गोलनेपाल

विराटनगर । शनिबार सम्पन्न आठांै संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल, काठमाडौले जितेको छ । विराटनगरको सहिद मैदानमा सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र हिसुब थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर बिशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरि टिमलाई अग्रता दिलाए । हिसुब थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९औं मिनेटमा हिसुब थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।

खेलमा सांग्रीलाले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । सांग्रीलाले २५औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट बचाए । ३५औं मिनेटमा सांग्रीालका सुशिल राईले गोल गर्ने अवसर खेर फाले । ४२औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेपीनले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्टमाथिबाट बल बारियो ।

४३औ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफसम्म गोल रहित खेल बराबारीमा सकियो । ५४औं मिनेटमा सांग्रीलाका बिकेक पौडेलले मध्यभाग बाट निकालेको पासलाई सुशिल राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ८३औं मिनेटमा स्टिेफिन विनङले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीालका गोलकिपर बिसाल सुनारले बिफल पारिदिए ।

हारपछि सांग्रीला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोल आत्मसाथ गर्न पुगेको बताए । ‘मोरङका कप्तान अभिषेक लिम्बु बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो,’ उनले भने, ‘जसको कारणले पराजय भोग्नुपर्यो ।’ सांग्रीलाका कप्तान अभिषेक लिम्बुले भने, ‘ मच्छिन्द्र बलियो टिम हो । हामीले सक्दो प्रयास गर्दागर्दै पनि हार खेप्नुपर्यो ।’

उता जित हात पारेपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले निर्धारित समयमा गोल हुन नसकेपछि हामीले खेल जितेको बताए । ‘यसमा हामी खुसी रहेका छौ,’ उनले भने । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न हामी पहिलाबाटै मानषिक रुपमा तयार रहेको बताए । ‘दबावको बावजुद पहिलो पटक विराट गोल्डकपको उपाधि जित्नु हाम्रो गौरव हो,’ उनले भने, ‘यो सँगै हामीले इतिहास पनि रचेका छौं ।’

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बु घोषित भए । उनले ११ हजार पाए । अन्य विधातर्फ बेस्ट गोलकिपर मच्छिन्द्रका बिशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।

बिजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।

Post Comments