News हानामी बिएफसी बन्यो कपिलवस्तुको च्याम्पियन
सुरज राना मगर

कपिलवस्तु । यहाँ सम्पन्न प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि हानामी बिएफसी, चितवनले जितेको छ । शनिबार सम्पन्न फाइनलमा बिएफसीले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि बुद्ध रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बिएफसीका लागि अनुप लिम्बुले गोल गरे भने पुलिसका लागि सुजित भण्डारीले गोल गरेका थिए । टाईब्रेकरमा भने बिएफसीले पुलिसमाथि ४–३ को जित निकाल्यो ।

कपिलवस्तुमा ऐतिहासिक उपाधि जित्दै विजेता बनेको हानामी बिएफसीले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता पुलिसले ५,५५,५५५ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो । बिएफसी कै अनिल खड्का फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधागततर्फ बिएफसीका भबिन्द्र मल्ल उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट डिफेन्डर पनि बिएफसी कै अमृत श्रेष्ठ चुनिदा उत्कृष्ट मिडफिल्डर र फरवार्ड पुलिसका क्रमशः पृथ्वी चौधरी र बिबेक पाण्डे घोषित भए ।

उत्कृष्ट प्रशिक्षक विजेता टोली बिएफसी कै ध्रुव भुषाल बने । आयोजक कपिलवस्तु–११ का मिलन क्षेत्री उदियमान खेलाडी बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी विजेता हानामी बिएफसीका सुजित बुढाथोकी घोषित भए ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा गत चैत १७ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए । सोही अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा आयोजक समितिका अध्यक्ष तिलक थापाले धन्यवाद र आभार प्रकट गरे ।

 

Post Comments