News हेटौडा मेयर कपः वार्ड नम्बर १ र १५ को जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी चौथो हेटौडा मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर १५ ले जित हात पारेका छन् । जित हात पार्ने क्रममा वडा नम्बर १ ले वडा नम्बर १७ लाई टाईब्रेकरमा ५–४ ले हरायो ।

त्यसअघि पिप्ले क्याम्पा रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ वडा नम्बर १ का लागि रोमन श्रेष्ठले गोल गरेका थिए भने वडा नम्बर १७ का लागि सुर्य राईले गोल गरेका थिए ।

टाईब्रेकरमा भने वडा नम्बर १ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा वडा नम्बर १ का विश्व लामा म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा वडा नम्बर १५ ले वडा नम्बर २ माथि ५–० को एकतर्फी जित निकाल्यो । वडा नम्बर १५ का लागि रितेश श्रेष्ठ र विश्वास भोेलनले दुई–दुई गोल गरे । थप एक गोल भने अनिश लामाले गरे । खेलमा विश्वास भोलन म्यान अफ द म्याच समेत चुनिए ।

नगर खेलकुद विकास समिति, हेटौडा उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments