News खेल अभ्यास गर्न सरकारको अनुमति, राष्ट्रिय फुटबल टोलीलाई पनि राहत
गोलनेपाल

काठमाडौं । नेपाल सरकारले विभिन्न खेलकुदसँग सम्बन्धित संघसंस्थाहरुलाई भाद्र १ गतेदेखि आवश्यक अभ्यास शुरु गर्न अनुमति दिएको छ ।

सरकारको यो निर्णयसँगै नेपाली फुटबलका लागि पनि यो सुखद खबर बनेको छ । स्मरण रहोस, आउँदै गरेको फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौट खेल्ते तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टोली तयारीविहीन अवस्थामा थियो ।

कोरोना भाइरस महामारीका कारण देश आक्रान्त बन्नु र लकडाउन पनि लम्बिदै जाँदा सरकारले राष्ट्रिय फुटबल टोलीलाई अभ्यास गर्न अनुमति दिन पनि ढिलाई गरेको थियो । सरकारको यो निर्णयसँगै अन्य खेल संस्थाहरुलाई पनि राहत मिलेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले उल्लेखित मिति मै अभ्यास शुरु गर्न सकिने स्पष्ट पारे । यद्यपि उनले तत्काल खेल संस्थाहरुले कुनै पनि खेल गतिविधि आयोजना गर्न नपाउने पनि बताए । साथै दर्शकहरुको उपस्थिति माथि अझै पनि बन्देज लगाइएको छ ।

स्मरण रहोस, नेपालले फिफा विश्वकप छनौट तथा एसियन कप छनौटतर्फ घरेलु मैदानमा अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग खेल्न बाँकी छ । यी खेलहरु आउँदो अक्टुबर र नोभेम्बरमा हुने तय भइसकेको छ ।

सरकारको यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि राष्ट्रिय फुटबल टोलीको अभ्यास मिति पनि छिटै तोक्ने अनुमान गरिएको छ । राष्ट्रिय टोलीले नेपाल आर्मीको मुख्यालयमा रहेको फुटबल मैदानमा अभ्यास गर्ने समेत यसअघि नै एन्फा र आर्मी पक्षबीच सहमति भइसकेको छ ।

Post Comments