News सागका गोल्ड मेडलिस्टहरुलाई काँग्रेसले नगदसहित सम्मान गर्ने
गोलनेपाल

काठमाडौं । नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली काँग्रेसले नगदसहित सम्मान गर्ने भएको छ ।

स्मरण रहोस, गत मंसिरमा नेपालमै आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण पदक सहित कुल २०७ पदकका साथ पदकतालिकामा भारतपछि दोस्रो स्थानमा रहन सफल भएको थियो ।

पार्टीको केन्द्रिय खेलकुद विभागको प्रमुखका अनुसार तत्कालका लागि एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीहरुलाई मात्र सम्मानित गरिनेछ । जसअन्तरगत एक स्वर्ण जित्नेलाई दश हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारका दरले सम्मानित गरिने जानकारी दिइयो ।

त्यस्तै अन्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई पछि क्रमिक रुपमा सम्मानित गरिने समेत पार्टीले जनाएको छ ।

त्यति मात्र नभएर अर्को बर्ष हुने भनिएको टोक्यो ओलम्पिकमा सहभागिता जनाउने खेलाडीहरुको बिमा पनि गरिने बताइएको छ । यो निर्णय हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै लिइएको बताइएको छ ।

स्मरण रहोस, सागको पुरुष फुटबलतर्फ पनि नेपालले स्वर्ण पदक जित्न सफल भएको थियो । त्यतिबेला नेपालले फाइनलमा भुटानलाई हराउँदै स्वर्ण जित्न सफल भएको थियो ।

Post Comments