News वडा नम्बर ४ लाई हेटौडा मेयर कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ सम्पन्न चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले जितेको छ । फाइनलमा वडा नम्बर ४ ले वडा नम्बर १४ लाई सडन डेथमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ वडा नम्बर ४ का लागि खेलको ६२औं मिनटमा दिपेश भण्डारीले शुरुवाती गोल गरेका थिए । यद्यपि खेलको अन्तिमतिर अनुप राना मगरले वडा नम्बर १४ का लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछि टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा वडा नम्बर ४ ले वडा नम्बर १४ माथि ६–५ को जित निकाल्दै उपाधि जित्न सफल भयो । विजेता बनेको वडा नम्बर ४ ले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता वडा नम्बर १४ ले १ लाखमा चित्त बुझायो ।

प्रतियोगितामा वडा नम्बर १५ ले तेस्रो स्थान हासिल गर्यो भने वडा नम्बर १३ ले चौथो स्थान हासिल गर्यो । तेस्रो स्थान हासिल गर्ने टोलीले नगद ५० हजार हात पार्दा चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार प्राप्त गर्यो ।

विधागततर्फ वडा नम्बर ४ का अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । वडा नम्बर ४ कै निरज देउला उत्कृष्ट गोलरक्षक चुनिए भने वडा नम्बर १४ का सुविन धमला उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट मिडफिल्डर वडा नम्बर ४ का दीपेश भण्डारी चुनिए ।

त्यस्तै उत्कृष्ट फरवार्ड वडा नम्बर १४ का अनुप राना मगर बन्दा उत्कृष्ट प्रशिक्षक वडा नम्बर ४ का शंकर खड्गी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने वडा नम्बर १५ का विश्वास भोलनले हात पारे । उत्कृष्ट सवैले जनही ५र५ हजार रुपैयाँ प्राप्त गरे ।

Post Comments