News वार्ड नम्बर १० लाई दुहबी मेयर कपको उपाधि
गोलनेपाल

दुहबी । यहाँ सम्पन्न छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १० ले जितेको छ । फाइनलमा वार्ड नम्बर ६ लाई टाईब्रेकरमा हराउँदै वार्ड नम्बर १० च्याम्पियन बनेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ वार्ड नम्बर १० का लागि कबिन्द्र नारायण चौधरीले गोल गरेका थिए भने वार्ड नम्बर ६ का लागि बसन्त माझीले गोल गरेका थिए ।

टाईब्रेकरमा भने वार्ड नम्बर १० ले वार्ड नम्बर ६ माथि ४–२ को जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । विजेता बनेको वार्ड नम्बर १० ले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता वार्ड नम्बर ६ ले ७२,२२२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

वार्ड नम्बर १० का प्रल्हाद चौधरी फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद २ हजार र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर १० कै युकेश चौधरी चुनिए ।

उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ६ का जित नारायण मण्डल बन्दा उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ६ कै आशिष साह घोषित भए । उत्कृष्ट फरवार्ड वार्ड नम्बर १० का कबिन्द्र चौधरी बन्दा उत्कृष्ट प्रशिक्षक पनि वार्ड नम्बर १० कै प्रकाश चौधरी घोषित भए ।

वार्ड नम्बर ११ फेयर प्ले टिम बन्यो । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर १० का कबिन्द्र नारायण चौधरी र वार्ड नम्बर ६ का बसन्त माझीले संयुक्त रुपमा हात पारे । दुवैले ३–३ हजार हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने वार्ड नम्बर ६ का अमित चौधरी घोषित भए । त्यसवापत उनले नगद ७ हजार र ट्रफी हात पारे । दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा सम्पन्न भएको प्रतियोगिताको विजेता, उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments