News अभिषेकले पाए भिजनको साथ
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्नले एक बर्षका लागि प्रायोजन गरेको छ ।

आँखा सम्बन्धी चेकजाँच गर्ने तथा चश्मा पसलका रुपमा समेत रहेको भिजन कन्सर्नको यो प्रायोजनसँगै अभिषेकलाई हालको यो कठिन परिस्थितिमा केही सहज वातावरण समेत मिलेको छ ।

बुधबार कम्पनी मै पुगेर रिजाल र कम्पनी सञ्चालक कृष्ण पोखरेलले सम्झौतापत्रमा हस्ताक्ष समेत गरे । यद्यपि दुवै पक्षबीचको आर्थिक सम्झौताबारे भने केही खुलाइएको छैन ।

प्रायोजन सम्झौतासँगै भिजन कन्सर्नले रिजालको एक बर्षसम्मका लागि पूर्ण आँखा चेकजाँच निःशुल्क गर्नेछ । साथै एक वर्ष कै लागि रिजाललाई निःशुल्क चश्मा समेत उपलब्ध गराउने बताइएको छ ।

स्मरण रहोस, गत बर्षको जुनमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेई विरुद्ध १–१ को बराबरी खेल्दा रिजालले नेपालका लागि डेब्यु गोल गरेका थिए । त्यति मात्र नभएर एएफसी कप च्याम्पियनसिपमा गोल गर्ने रिजाल पहिलो नेपाली खेलाडी समेत हुन् ।

 

Post Comments