News भारतमा हुने फिफा यु–१७ महिला विश्वकपको पाँच खेलस्थलहरु टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । यसै बर्ष छिमेकी राष्ट्र भारतमा हुने भनिएको प्रतिष्ठित फिफा यु–१७ महिला विश्वकप फुटबल प्रतियोगिता कोरोना भाइरस महामारी कै कारण आगामी वर्षका लागि सारिएको छ ।

प्रतियोगिताको सातौं संस्करण आगामी बर्षको १७ फेब्रुअरीदेखि ७ मार्चसम्म भारतका विभिन्न पाँच शहरहरुमा हुने छन् । प्रतियोगितामा एसियाबाट आयोजकको हैसियतमा भारतले यसअघि ने स्थान बनाइसकेको छ ।

त्यस्तै जापान र उत्तर कोरियाले भने गत बर्ष सम्पन्न एएफसी यु–१६ महिला च्याम्पियनसिपतर्फ क्रमशः विजेता र उपविजेताका रुपमा विश्वकपमा स्थान बनाउन सफल भएका छन् ।

यसैबीच प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको भारतले प्रतियोगिता सम्पन्न गर्न पाँच मुख्य शहरहरुलाई खेल आयोजना स्थलका रुपमा तोकेको छ ।

जसमा भुवनेश्वर, कोलकाता, गुवाहाटी, अहमदाबाद र मुम्बई रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल गुवाहाटी स्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा हुनेछ । जसको दर्शक क्षमता २५ हजार रहेको बताइएको छ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल नावी मुम्बई स्थित डिवाई पाटिल स्पोर्टस स्टेडियममा हुने भएको छ । जसको दर्शक क्षमता ५५ हजार रहेको छ ।

अन्य स्टेडियमहरुमध्ये कोलकातामा रहेको साल्ट लेक स्टेडियममको दर्शक क्षमता सर्वाधिक बढी ८५ हजार रहेको छ । भुवनेश्वरमा रहेको कालिंगा स्टेडियमको दर्शक क्षमता १५ हजार रहेको छ भने अहमदाबादमा रहेको दि एरिना स्टेडियमको दर्शक क्षमता २५ हजार रहेको बताइएको छ ।

प्रतियोगितामा पहिलोपटक सहभागि आयोजक भारतको सहभागितालाई अनुभव हासिल गर्ने, गौरव र प्रतिष्ठाको विषयका रुपमा समेत हेरिएको छ ।

स्मरण रहोस, सन् २०१८ मा उरुग्वेमा सम्पन्न गत संस्करणको उपाधि पहिलोपटक स्पेनले जितेको थियो । प्रतियोगिताको उपविजेता मेक्सिको बनेको थियो भने न्युजिल्याण्डले तेस्रो स्थान हासिल गरेको थियो ।

(तस्विर: फ्रि प्रेस जर्नल)

 

Post Comments