News गोदावरी मेयर कपको सेमिफाइनलमा काठमाडौं र मध्यपुर तथा चन्द्रागिरी र महालक्ष्मी भिड्ने
गोलनेपाल

गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुबै खेल मंगलबार हुँदैछ ।

गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा हुने पहिलो सेमिफाइनलमा काठमाडौं महानगर र मध्यपुर थिमिबीच प्रतिस्पर्धा हुनेछ । खेल मंगलबार दिउँसो साढे १२ बजे सुरु हुनेछ । गोदावरी नगरपालिकाको बि टिमलाई हराउँदै काठमाडौं महानगर सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले पाखा लगाउँदै मध्यपुर थिमिले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यसैगरी मंगलबार दिउँसो साढे ३ बजे चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल हुनेछ । दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो । यस्तै चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनल र फाइनलमा पराजित हुने टिमका एक जना उत्कृष्ट खेलाडीलाई उदयमान खेलाडीको ट्रफि प्रदान गरिने भएको छ । वेलकम पार्टि प्यालेसका संचालक सुबास पुडासैनीले सो ट्रफी उपलब्ध गराएका हुन् ।

Post Comments