News भुटानमा फुटबल लिगसँगै सतर्कता पनि एक साथ (फोटो फिचर)
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व खेलकुद अहिले कोरोना भाइरस महामारीका कारण केही हदसम्म ठप्प भइरहेको बेला यो भाइरसले फुटबललाई पनि उस्तै असर पारिरहेको छ । यद्यपि केही देशहरुमा फुटबल विस्तारै फर्कि पनि रहेका छन् ।

यसै क्रममा भर्खरै मित्र राष्ट्र भुटानको शिर्ष लिग भुटान प्रिमियर लिग पनि शुरु भइसकेको छ । तर भुटानी एफए र सरकारले निकै कडाईका साथ उच्च सतर्कता अपनाएर लिग सञ्चालन गरिरहेको छ ।

भुटान फुटबल फेडरेशनका अनुसार कोभिड–१९ बारे उच्च सतर्कता अपनाएर स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार नै लिग सञ्चालन भईरहेको बताएको छ । साथै एएफसी र फिफाले तोकेको मापदण्ड अनुसार नै लिगमा खेलहरु भइरहेको पनि भुटान एफएले जनाएको छ ।

भुटान एफएका अनुसार लिगका खेलहरु खाली स्टेडियममा भइरहेका छन् । खेलाडीहरुलाई स्टेडियम प्रवेश अघि उनीहरुको तापक्रम चेकजाँच समेत भइरहेको छ । त्यति मात्र नभएर मैदान बाहिर रहने खेलाडी, अफिसियलहरुलाई अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ ।

त्यस्तै खेल पश्चात् प्रत्येकपटक ड्रेसिङ रुम सेनिटाइज समेत गरिंदैछ । रेफ्री, मैदानमा खटिएका सेक्युरिटी लगायत सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न लगाइएको छ । कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखेर भुटान एफएले निकै कडाईका साथ सतर्कता अपनाएर लिग म्याचहरु सञ्चालन गरिरहेको छ ।

खेलकुद र त्यसमा पनि खासगरी फुटबलमा विशेष लगानी र प्रतिफल हासिल गरिरहेको भुटानले यो महामारीको विषम परिस्थितिमा पनि फुटबल र सतर्कतालाई एक साथ अपनाईरहेको छ ।

स्मरण रहोस, नेपालमा पनि सरकारले आउँदो भदौ पहिलो सातादेखि खेलकुद सम्बन्धी अभ्यास थाल्न अनुमति दिइसकेको छ । साथै नेपाल मै हुन गईरहेको फिफा विश्वकप र एसियन कप छनौटतर्फको खेलहरुका लागि राष्ट्रिय टोलीमा पर्न सक्ने खेलाडीहरु काठमाडौं आएर क्वारेन्टिनमा समेत बस्न शुरु गरिसकेका छन् ।

(तस्विरः भुटान एफए)

 

Post Comments