News अब हाछ्युँ गर्दा पनि रातो कार्ड
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लोकप्रिय खेल फुटबलमा खेलाडीले रातो कार्ड पाउनुलाई सम्बन्धित खेलाडीले गरेको गम्भिर गल्तीका रुपमा लिइने गरिन्छ ।

अर्थात विपक्षी खेलाडीलाई अपशब्द प्रयोग गर्नु, हातपात गर्नु र फुटबलको नियम विपरित गम्भिर कार्य गर्दा रेफ्रीले खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर निश्कासन गर्ने गर्छ ।

अब आएर यो रातो कार्डको प्रयोग यति मै सिमित नहुने देखिएको छ । रिपोर्टअनुसार अब कुनै खेलाडीले जानाजान खेलका क्रममा हाछ्युँ गरे रेफ्रीले त्यस्ता खेलाडीलाई पनि रातो कार्ड दिन सक्नेछ ।

यो कुराको पुष्टी फुटबलको नियम बनाउने सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइएफएबी) ले गरेको छ । आइएफएबीले खेलका क्रममा खेलाडीले नियतवश वा प्राकृतिक रुपमा हाछ्युँ गरेको भन्ने निर्णय लिने पूर्ण अधिकार रेफ्रीलाई दिएको छ ।

त्यति मात्र नभएर बोर्डले रेफ्रीलाई यसबारे सही र निष्पक्ष निर्णय लिन समेत आदेश दिएको छ । स्मरण रहोस, हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारकिा कारण फुटबलमा केही नयाँ नीति नियमहरु परिमार्जन भइरहेका छन् ।

यसअघि आइएफएबीले आगामी सिजनदेखि फुटबलमा पाँच खेलाडीलाई मैदानमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गराउन सकिने नियम बनाएको थियो । जुन नियम आगामी सिजनदेखि लागु हुने समेत बताइएको छ ।

Post Comments