News कतारी क्लब मै पुगे अर्का स्पेनिस स्टार
गोलनेपाल

काठमाडौं (एजेन्सी)। युरोपमा नाम चलेका फुटबल खेलाडीहरुका लागि आकर्षक गन्तव्य बनिरहेको एसियाली देशहरुमध्ये कतार पनि एकमा पर्ने गर्दछ ।

आन्द्रेस इनिस्टा, जाभी, लुकास पुडोलोस्की, हल्क, पाउलिन्हो, ओस्कार जस्ता चर्चित खेलाडीहरुले एसियाली क्लबहरुमा आफ्नो जादुमयी खेल देखाइसकेका छन् ।

यहि सूचीमा अहिले अर्का स्पेनिस स्टार थपिएका छन् । कतार स्टार्स लिगमा आफ्नो दबदबा कायम गरिरहेको लिग च्याम्पियन अल सादले पूर्व आर्सनल तथा भिल्लारियल स्टार मिडफिल्डर सेन्टी केजोर्लालाई अनुवन्ध गरेको छ ।

रिपोर्टअनुसार ३५ बर्षिय केजोर्लाले अल सादसँग दुई बर्षका लागि सम्झौता गरेका हुन् । अल साद त्यहि क्लब हो, जसको मुख्य प्रशिक्षकमा केजोर्लाकै पूर्व राष्ट्रिय टिममेट तथा बार्सा लिजेण्ड जाभी रहेका छन् ।

६ सिजन इङलिस क्लब आर्सनलमा बिताएर दुई बर्ष अघि मात्र भिल्लारियलमा आवद्ध भएका केजोर्ला स्पेनिस ला लिगाको यस सिजनको समाप्तीसँगै फ्रि एजेन्ट थिए ।

अल सादमा आवद्ध भएपछि निकै उत्साहित देखिएका केजोर्लाले कतारी च्याम्पियनलाई कतार कै सबैभन्दा ठूलो र उत्कृष्ट क्लब रहेको बताए । साथै उनले अल सादलाई सबै उपाधि जित्न सहयोग गर्ने प्रतिक्रिया समेत दिए ।

 स्मरण रहोस, स्पेनका लागि कुल ८१ क्याप जित्दै १५ गोल गरेका केजोर्लाले स्पेनिस टोलीलाई सन् २००८ र २०१२ को युरो च्याम्पियनसिप जिताउन पनि अहम भूमिका खेलेका थिए । 

 

Post Comments