News सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङ
गोलनेपाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाल योगा खेलकुद संघले आयोजना गरेको कार्यक्रममा सदस्य–सचिव घिसिङले भने– ‘हामी सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्छ । योगले हामीलाई शारीरिक रुपले मात्र नभइ मानसिक रुपले पनि स्वस्थ बनाउछ ।’

सदस्य–सचिव घिसिङले खेलकुदको तालिमलाई अझ व्यवस्थित बनाउन योग संघबाट अझ सहकार्य र अपेक्षा गरेको बताए ।

‘परिषद्ले खेलकुदको तालिमलाई अझ व्यवस्थित बनाउन तपाईहरुबाट थप सहकार्य र अपेक्षा गरेको छ । खास गरी नेपाली खेलकुद अब प्राविधिक र विषयगत तालिममा मात्र नभएर समग्र तयारीमा जुटेको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘विगतमा पनि तपाईंहरुसंग हामीले सहकार्य गरेका थियौं । गत वर्ष १९ औं एसियाली खेलकुदको तयारी होस् वा अहिले मिसन २०२६ को क्रममा होस् । हामीले योग अभ्यासलाई हाम्रो बन्द प्रशिक्षण र विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडीहरुलाई योगसंग हामीले एकाकार गर्दै अगाडि बढी रहेको सन्दर्भमा योगमा लाग्नु भएका प्रशिक्षकहरुलाई नेपाली खेलकुदमा योग शिक्षा र विधिलाई अझ व्यवस्थित ढंगले प्रयोग गर्न आग्रह गर्न चाहन्छु । अन्तर्राष्ट्रिय योग दिवसमा सबैलाई शुभकामना ।’

योगा संघले आनन्द मार्ग योगा समाज, नेपालको सहयोगमा अन्तर्राष्ट्रिय योग दिवस नेपालमा मनाएको हो । १ हजार भन्दा बढीको उपस्थितिमा भएको कार्यक्रममा योगाका खेलाडीहरुले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए । भारत र बंगालदेशका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

Post Comments