News महेन्द्र मावि र आयोजक जनता मावि सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । महेन्द्र मावि, तित्रिवन र आयोजक जनता मावि, नडाहा यहाँ जारी बराहक्षेत्र कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

तेस्रो क्वाटरफाइनलतर्फ महेन्द्र माविले ज.डे.ज. मावि, कालाबञ्जरलाई शून्यका विरुद्ध ३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । महेन्द्र माविका लागि टेक बस्नेतले दुई गोल गरे भने थप एक गोल अनुप घिमिरेले गरे । खेलमा दुई गोल गरेका महेन्द्र माविका टेक बस्नेत प्लेयर अफ द म्याच घोषित भए ।

चौथो क्वाटरफाइनलमा आयोजक जनता माविले स्काई ई. स्कुल, नडाहालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । जनताको जितमा सुरेन्द्र लिम्बुले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लिम्बु नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेलहरु यही असार १० गतेका दिन हुनेछ । पहिलो सेमिफाइनलमा महेन्द्र मावि, तित्रिवनले महेन्द्र मावि, चक्रभट्टीसँग खेल्नेछ भने दोस्रो सेमिफाइनलमा आयोजना जनता मावि, नडाहाले मर्निङ्ग स्टार स्कुल, चक्रभट्टीको सामना गर्नेछ ।

जनता मावि, बराहक्षेत्र–३, नडाहा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ हजार हात पार्नेछ भने उपविजेताले ११ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असार १२ गतेका दिन हुनेछ ।

Post Comments