
काठमाडौं (एजेन्सी) । बुधबारदेखि फ्रान्समा शुरु प्रतिष्ठित ओलम्पिक गेम्सको पुरुष फुटबलतर्फ न्युजिल्याण्ड र स्पेनले विजयी शुरुवात गर्दा पूर्व ओलम्पिक च्याम्पियन अर्जेन्टिना भने हारबाट जोगिएको छ ।
फ्रैन्च शहर नाइसमा भएको समूह ए तर्फको उद्घाटन खेलमा न्युजिल्याण्डले गुएनालाई २–१ ले हरायो । न्युजिल्याण्डका लागि खेलको २५औं मिनटमा म्याथ्यु गार्बेटले पहिलो गोल गरे ।
तर, दोस्रो हाफको ७२औं मिनटमा अमाडु डायवाराले गुएनाका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि त्यो बराबरी गोलको खुशी पनि अफ्रिकी राष्ट्रले धेरैबेर मनाउन सकेन । खेलको ७६औं मिनटमा बेन्जामिन वाएनले न्युजिल्याण्डका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे ।
त्यस्तै समूह बी तर्फ अर्जेन्टिनाले मोरक्कोसँग २–२ गोलको बराबरी खेल्यो । मोरक्का लागि पहिलो हाफको इन्जुरी समयमा र दोस्रो हाफको ५१औं मिनटमा सुफिआने रहिमीले लगातार दुई गोल गर्दै टोलीलाई सनसनीपूर्ण अग्रता दिलाएका थिए । उनले दोस्रो गोल भने पेनाल्टीमार्फत गरेका थिए ।
यद्यपि खेलमा अर्जेन्टिनाले रोमाञ्चक पूनःरागमन गर्यो । ६८औं मिनटमा सिमोन बाल्डिनीले अर्जेन्टिनाका लागि पहिलो गोल फर्काए भने अन्तिमतिर इन्जुरी समयमा क्रिष्टियन मेडिनाले दोस्रो गोल गर्दै अर्जेन्टिनाको सम्भावित हार टारेका थिए ।
त्यस्तै समूह सी तर्फको पहिलो खेलमा दावेदार स्पेनले एसियाली राष्ट्र उज्वेकिस्तानलाई २–१ ले हरायो । पेरिसमा भएको खेलको २८औं मिनटमा मार्क पुबिलको गोलबाट स्पेनले खेलमा अग्रता बनाएको थियो ।
तर, पहिलो हाफ कै इन्जुरी समयमा एल्डोर सोमुरोदोवले उज्वेक टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए तापनि दोस्रो हाफको ६२औं मिनटमा सर्जियो गोमेजले स्पेनका लागि दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
स्मरण रहोस, ओलम्पिकको पुरुष फुटबलतर्फ सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनल (नकआउट चरण) मा प्रवेश गर्नेछन् । फाइनल खेल ९ अगस्तका दिन हुनेछ । ब्राजील डिफेन्डिङ च्याम्पियन हो तर यसपटक ब्राजीलले ओलम्पिकमा स्थान बनाउन सकेन ।