भानु । “भानु जाऔं, फूटबलको साथमा रमाऔं” भन्ने नाराका साथ यही साउन १९ गतेदेखि हुने प्रतिष्ठित १७औं भानु कप राष्ट्रिय फूटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
यसअघि असार २९ गतेदेखि राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औ जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्ने भनिए तापनि विविध कारणवश प्रतियोगिताको मिति साउन १९ गतेका लागि सारिएको थियो ।
भानु–१ भन्सार स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साउन १९ गतेका दिन सेभेन स्टार एफसी र योङ ब्वाईज एफसी भिड्ने छन् । कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन २६ गतेका दिन हुनेछ ।
तनहुँ जिल्ला कै सर्वाधिक धनराशी रहेको प्रतियोगिताको फुटबलतर्फ विजेताले उपाधिसहित नगद २ लाख ५० हजार २ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार २ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत बानियाँले जानकारी दिए ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही २५ हजार २ सय ११ रुपैयाँ प्रदान गरिने अर्का खेल संयोजक पारस थापा मगरले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११९ ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई नगद रु ५ हजार २ सय ११९ ट्रफी, मेडल, प्रमाणपत्र, सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिए । त्यसवाहेक प्रत्येक खेलको प्लेयर अफ द म्याच र फेयर प्ले टिमलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।