
काठमाडौं । घरेलु मैदान मै जारी साफ यु–२० च्याम्पियनसिपतर्फ नेपालले सेमिफाइनलमा भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार समूह बी तर्फको अन्तिम खेलमा भारतले माल्दिभ्समाथि १–० को जित निकालेपछि नेपालले भुटानलाई सेमिफाइनल प्रतिद्वन्द्वीका रुपमा पाएको हो ।
भारतले माल्दिभ्सलाई हराएसँगै समूह बी मा भारत समूह विजेता बन्दा भुटान समूह उपविजेता बन्यो । दुई खेलबाट शतप्रतिशत जित निकालेको भारत ६ अंकसहित शिर्ष स्थानमा रहँदा माल्दिभ्समाथि सनसनीपूर्ण जित हात पारेको भुटान ३ अंकसहित दोस्रो स्थानमा रह्यो । अंकविहीन माल्दिभ्स भने पुछारमा रहँदै बाहिरियो ।
त्यस्तै समूह ए मा शतप्रतिशत जितका साथ नेपाल ६ अंकसहित शिर्ष स्थानमा रहेर समूह विजेता बन्दा ३ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्यो । त्यस्तै अंकविहीन श्रीलंका भने पुछारमा रहँदै समूह चरणबाट बाहिरियो ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालले भुटानको सामना गर्नेछ । त्यस्तै मंगलबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारतले बंगलादेशससँग खेल्नेछ । रोचक कुरा त, भारत र बंगलादेश गत संस्करणका फाइनलिस्ट पनि हुन् ।