पिपरिचापा । उत्कृष्ट जित हात पार्दै हरैया युथ क्लब, हरैया यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलमा हरैयाले विश्व शान्ति युवा क्लब, सालझण्डीलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । हरैयाको जितमा राज भुषाल, बिज्ञान गुरुङ, मिलन क्षेत्री र अनुप थापाले गोल गरे ।
खेलमा हरैया कै मिलन क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ १६ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक गौतम बुद्ध सामुदायिक विकास संस्था, पिपरिचापा र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।