News कतार विरुद्ध बराबरी होइन जित चाहन्छ बंगलादेश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ समूह ई मा रहेको दक्षिण एसियाली राष्ट्र बंगलादेशले आज एसियन च्याम्पियन कतारसँग खेल्दैछ ।

स्मरण रहोस, कतार सन् २०२२ को फिफा विश्वकपको आयोजक राष्ट्र समेत हो । विश्वकपमा छनौट हुने सम्भावनाबाट बाहिरिसकेको बंगलादेशको एसियन कप खेल्ने सम्भावना भने कायम छ ।

बंगलादेशले आज कतार विरुद्ध दोहा स्थित जमिम बिन हमाद स्टेडियममा खेल्दैछ । समूह ई मा ४ खेलबाट १ अंक जोडेको बंगलादेश पुछारमा छ । उता कतार भने १२ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह ई मा कतार र बंगलादेशसँगै भारत, अफगानिस्तान र ओमान छन् । बंगलादेशले कोरोना भाइरस महामारीका कारण छनौट प्रतियोगिता स्थगित हुनु अघि अन्तिमपटक गत बर्षको नोभेम्बरमा ओमान विरुद्ध खेलेको थियो । जुन खेलमा बंगलादेश १–४ ले पराजित भएको थियो ।

आत्मविश्वासी बंगलादेशका कप्तान र प्रशिक्षक

खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बंगलादेश टोलीका कप्तान जमल भयन र प्रशिक्षक जेमी डे आत्मविश्वासी देखिए । कतार विरुद्ध सकरात्मक नतिजा निकाल्ने दुवैको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै कप्तान भुयनले भने, "कतार निकै बलियो टोली हो । उनीहरुप्रति हाम्रो विशेष सम्मान छ । तर हामी पछि हट्ने छैनौं । कतार विरुद्ध हामी जितका लागि खेल्नेछौं ।"

उता बंगलादेशका प्रशिक्षक जेमी डे भन्छन्, "मेरा खेलाडीहरु बराबरी होईन जितका लागि खेल्न आएका हुन् । विपक्षी टोली जति नै बलियो किन नहोस तर मेरो खेलाडीहरुले विपक्षी विरुद्ध जितका लागि डटेर खेल्नेछन् ।"

पहिलो खेलमा सम्मानजनक हार

बंगलादेशले कतार विरुद्ध गत बर्षको १० अक्टुबरमा दिन भएको खेलमा सम्मानजनक हार बेहोरेको थियो । घरेलु मैदान ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा बंगलादेशले एसियन च्याम्पियन कतारसँग २–० को हार बेहोरेको थियो । यद्यपि बंगलादेशको प्रदर्शनलाई लिएर धेरैले प्रशंसा समेत गरेका थिए ।

तयारी पनि राम्रो

बंगलादेशले कतारसँग खेल्नु अघि तयारी पनि राम्रो र लामो गरेको छ । दोहा आउनु अघि बंगलादेशले नेपाल विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण म्याच समेत खेलेको थियो ।

जसमा एक खेलमा २–० ले विजयी भएको थियो भने अर्को खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यस्तै बंगलादेश कतार पनि खेल हुनु भन्दा साता दिन अघि नै दोहा पुगेको थियो ।

त्यहाँ पनि बंगलादेशले दुई अभ्यास खेलेको थियो । दुवै खेलमा बंगलादेशले हार बेहोरे तापनि उनीहरुको प्रदर्शन भने सन्तोषजनक रहेको प्रशिक्षक जेमी डे ले प्रतिक्रिया दिएका थिए ।

(तस्विरः बंगलादेश एफए)

Post Comments