कोटिहवा । उत्कृष्ट पूनःरागमन गर्दै वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जा यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा वालिङले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
दिप कार्की, आयुष घलान जस्ता चर्चित खेलाडीहरु लिएर उत्रिएको दुई टोली बीचको भिडन्तमा शुरुवाती अग्रता भने नवयुवाले लिएको थियो ।
खेलको पाँचौं मिनटमा आयुष घलानको गोलबाट अग्रता लिएको नवयुवाले त्यसलाई कायम राख्न सकेन । ३५औं मिनटमा वालिङका विश्व थापाले बराबरी गोल फर्काए । ७३औं मिनटमा संजय रानाले वालिङका लागि दोस्रो गोल गर्दा ७९औं मिनटमा अनिष थापा मगरले तेस्रो गोल गर्दै स्याङ्जाली टोलीको जित पक्का गरे ।
खेलमा वालिङ कै क्षितिज राज जिटी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ २९ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल पाल्पा–११ र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।