काठमाडौं । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन् ।
पुरुष क्रिकेटका रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । गत संस्करण शीर्ष तीनको मनोनयनबाट विजेता घोषणा भएको थियो ।
यसपल्ट भने शीर्ष पाँच नै मनोनयन समावेश गरिएको हो । वर्ष उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले पल्सर एनएस २०० मोटरबाइक पाए । भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए । पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर बाइक जितिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । यो अवार्ड विजेता कुशलले पनि पल्सर एनएस २०० मोटरबाइक पाए । कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाली खेलकुदमा एक कांस्य र दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक) मा पदक प्राप्त गरेको थियो ।
उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (एक स्वर्ण र एक रजत) पदक जितेको थियो । प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे ।
युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए । हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए । हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते । १६ वर्षे हेमन्त पाल भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन् । उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन् ।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे । पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे । स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए । उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन् । १९औंं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । एसियन स्पोटर््स जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ । कुल १० विधामध्ये एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।
यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुबेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे । युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाएका हुन् । बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, केल्मी नेपालका प्रवन्ध निर्देश उत्तम न्यौपाने, चन्द्रागिरी हिल्सका सेल्स एन्ड मार्केटिङ निर्देशक प्रभावकर खड्का र एआइपिएसका उपाध्यक्ष यानिस दारासले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड विजेतालाई सम्मान गरेका थिए ।
- सिस्नेरी पहिरोमा ज्यान गुमाएका बाल खेलाडीहरुको निधनप्रति फिफा अध्यक्षद्वारा दुःख व्यक्त (पत्रसहित)
- फ्रेण्डस अफ तामाङ, बोजिनी र हिमानीको जित
- दोस्रो जहरसिंहपौवा कपः जिवाइसी, धारापानी र शंखरापुरको जित
- नवौं बुढानिलकण्ठ नगर कपको तयारी पूरा (खेलतालिकासहित)
- दोस्रो जहरसिंहपौवा कपः दुई खेल सम्पन्न, एक खेलमा वाक ओभर