सुकचर । रोमाञ्चक जित हात पार्दै चुलाचुली फुटबल क्लब, दमक यहाँ जारी चौथो बुढिगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा चुलाचुलीले बिराट स्पोर्टस एकेडेमी, मोरङलाई ३–२ ले हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।
चुलाचुलीको जितमा निश्चल बस्नेत, कोमल खवास र जंग खड्काले गोल गर्दा बिराट स्पोर्टसका लागि हिसुब थपलिया र बिबेक राईले गोल गरेका थिए । खेलमा चुलाचुलीका कोमल खवास म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत भदौ ३१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल पुर्वाञ्चल फुटबल क्लब, सुन्दरहरैचा र राजाबास फुटबल क्लब, राजाबास बीच हुने आयोजकले जानकारी दियो ।
नव युवा क्लब, बुढिगंगा–६, सुकचरको आयोजना तथा बुढिगंगा गाउँपालिका, मोरङ र बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।