News मैत्री युवा क्लब र टिकुलीगढको जित
सुरज राना मगर

बुटवल (खेलदैनिक) । आयोजक रानीगञ्ज युवा क्लब (बी) लाई हराउँदै मैत्री युवा क्लब, देवदह यहाँ जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको पहिलो खेलमा मैत्री युवा क्लबले आयोजक रानीगञ्ज युवा क्लबको बी टिमलाई २–० ले हरायो ।

मैत्री युवाको जितमा सन्दिप मगर र ह्यापी गुरुङले एक–एक गोल गरे । उता पाएको राम्रो अवसरहरुलाई सदुपयोग गर्न नसक्दा आयोजक टोलीले हार बेहोर्न बाध्य बन्यो ।

यो जितसँगै मैत्री युवा क्लब प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच आयोजक क्लब कै बेजिन सुर्यवंशी घोषित भए ।

टिकुलीगढ युवा क्लब पनि प्रिक्वाटरफाइनलमा

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा टिकुलीगढले उज्यालो एफसीलाई शून्यका विरुद्ध २ गोलको अन्तरले हरायो । खेलको शुरुवातबाटै राम्रो प्रदर्शन गर्दै विपक्षी विरुद्ध दबाब बनाएको टिकुलीगढका लागि सुमन दर्लामी र सनम गुरुङले गोल गरे ।

खेलको म्यान अफ द म्याच पनि टिकुलीगढ कै सनम गुरुङ घोषित भए । यो जितपछि टिकुलीगढ पनि प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

मंगलबारका दुई खेलहरु

प्रतियोगिता अन्तरगत मंसिर २३ गते मंगलबार पनि दुई खेलहरु हुनेछन् । जसअन्तरगत पहिलो खेलमा न्यु ईरा एफसीले फर्साटिकर एकेडेमीसँग खेल्नेछ भने दोस्रो खेल टिम ग्रेस युथ क्लब र अमुवा एफसीबीच हुने खेल संयोजक आशिष पाडेले बताए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ ।

 

Post Comments