News मकवानपुर जिल्ला लिगः सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो, पोतालालाई कारवाही
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । अन्तिम दुई क्वाटरफाइनलमा शहिद स्मृति कलब र हाडिखोला युथ क्लबले जित हात पारेपछि सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको हो ।

तेस्रो क्वाटरफाइनलतर्फ शहिद स्मृतिले गोर्खा ब्वाईज क्लबलाई २–० ले हराउँदै सेमिफाइनल प्रवेश गर्यो भने हाडिखोलाले न्यु डाँफे युवा क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

योसँगै मकवानपुर जिल्ला लिगको सेमिफाइनलमा न्यु कम्बाईन क्लब, शहिद स्मृति क्लब, पदमपोखरी युवा क्लब र हाडिखोला युवा क्लबले स्थान बनाएका छन् ।

पोताला कारवाहीमा पर्दा न्यु कम्बाईन सेमिफाइनलमा

त्यस्तै लिग अन्तर्गत एफसी पोतालाले नियम विपरितको कार्य गरेपछि कारवाहीमा परेको छ । यसअघि पहिलो क्वाटरफाइनलतर्फ न्यु कम्बाईन विरुद्धको खेलमा पोतालाले २–१ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

यद्यपि न्यु कम्बाईनले पोतालाले खेलमा जिल्ला बाहिरका खेलाडीलाई टोलीमा समावेश गरेको बन्दै उजुरी दिएपछि त्यसबारे आयोजकले छानबिन गरेको थियो । छानबिन पश्चात् पोतालाले बाहिरी खेलाडी खेलाएको भन्ने पुष्टी भएपछि पोतालालाई कारवाही गरिएको हो ।

कारवाही स्वरुप पहिलो क्वाटरफाइनलतर्फ पोतालासँग हार बेहोर्नुका बावजुद कम्बाईनलाई विजयी घोषणा गरिएको लिग संयोजक युवराज लामाले जानकारी दिए ।

पोतालालाई कारवाहीबारे विस्तृत पत्रमा पढ्नुहोस्ः

 

Post Comments