कुञ्जलापुर । लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा लिस्नुले जनज्योति क्लब, डिंगरनगरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा लिस्नुका सुशिल राई म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज १७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक झरना स्पोर्टस क्लब, कुञ्जलापुर र गोर्खा ब्वाईज सपोर्टस क्लब, बुटवल बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।