News ललितपुरका ए डिभिजन क्लबहरुले बार्षिक ४ लाख आर्थिक सहयोग पाउने
गोलनेपाल

ललितपुरका ए डिभिजन क्लबहरुलाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

आइतबार बसेको महानगरपालिकाको बैठकले ललितपुरका प्रत्येक ए डिभिजन टोलीलाई बार्षिक रुपमा ४ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।

ललितपुरबाट यस बर्ष ए डिभिजन लिग खेल्ने थ्रीस्टार क्लब, फ्रेण्डस क्लब, जावलाखेल युथ क्लब, ब्रीगेड ब्वाईज क्लब र च्यासल युथ क्लब गरी चार टोलीहरु रहेका छन् ।

त्यसैगरी ललितपुर महानगरपालिकाका मेयर छिरिबाबु महर्जनका अनुसार थ्रीस्टार क्लबले गत बर्ष मोफसलमा जितेको प्रत्येक उपाधिबापत नगद ४ लाख पाउने घोषणा गरेका छन् । थ्रीस्टारले गत सिजन ७ उपाधि जितेको थियो । त्यसवापत उसले थप २८ लाख प्राप्त गर्ने भएको छ ।

उक्त सहयोग रकम दशैं लगतै सम्बन्धित क्लबहरुलाई उपलब्ध गराइने बताइएको छ ।

उता गत महिना मात्र काठमाडौं महानगरपालिकाले काठमाडौंका ए डिभिजन क्लबहरुलाई ५ लाख नगद र ४ लाख ३० हजार बराबरको खेलकुद सामग्री उपलब्ध गराएको थियो ।

Post Comments