News १५औं सुजन मेमोरियल कप कार्तिक पहिलो सातादेखि
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । समाज कल्याण खेलकुद केन्द्र क्लबको आयोजनामा क्लब कै पूर्व दिवंगत खेलाडी सुजन गिरीको स्मृतिमा कार्तिक ६ गतेदेखि १५औं सुजन मेमोरियल कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारीसँगै कार्तिक ४ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८००० तोकिएको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको खेलतालिका भने कार्तिक ५ गते सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार दिवंगत खेलाडी सुजन गिरी मेहनती र क्षमतावान थिए । उनले मनाङ मस्र्याङ्दी क्लब जस्ता चर्चित क्लबहरुबाट युथ लिग खेल्नुका साथै अन्य थुप्रै प्रतियोगिताहरुमा पनि सहभागि भई उत्कृष्ट प्रदर्शन र सफलता पनि हासिल गरेका थिए । यद्यपि उनको असामयिकले क्लबलाई अपूरणीय क्षति पुर्याएको बताउँदै उनकै स्मृतिमा वार्षिक रुपमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लब कै सुशान्त महतले बताए ।

 

Post Comments