News चक्रघट्टीलाई सातौं प्रकाशपुर च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

प्रकाशपुर । संघर्षपुर्ण जितका साथ यहाँ सम्पन्न सम्पन्न सातौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्रले जितेको छ । फाइनलमा राजाबास युथ क्लब, राजाबासलाई पेनाल्टी शुटआउटमा हराउँदै चक्रघट्टी च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरबाट पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा चक्रघट्टीले राजाबासमाथि ८–७ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

विजेता बनेको चक्रघट्टीले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता राजाबासले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । राजाबासका रोहन कार्की फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यसवापत उनले नगद २१०० र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक चक्रघट्टीका रेम्बो चौधरी बन्दा उत्कृष्ट डिफेन्डर आयोजक प्रकाशपुर एफसीका रुबिन कार्की चुनिए । उत्कृष्ट मिडफिल्डर चक्रघट्टीका बिबेक पौडेल बन्दा उत्कृष्ट प्रशिक्षक पनि चक्रघट्टी कै प्रकाश भुजेल बने । सबैले जनही ३१००–३१०० र ट्रफी हात पारे ।

त्यस्तै उदीयमान खेलाडी आयोजक प्रकाशपुरका सुजन उराउ र साहित माझी संयुक्त रुपमा घोषित भए । दुवैले ५००० रुपैयाँ आपसमा बाँडे । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने चक्रघट्टीका आकाश राई घोषित भए । त्यसवापत उनले नगद ४१०० र ट्रफी हात पारे ।

प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेता तथा उपविजेता लगायतका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, सुनसरीका नगर प्रमुख रमेश कार्की लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments