News राष्ट्रिय महिला फुटबल खेलाडीले पनि पुरुष खेलाडी सरह समान पारिश्रमिक पाउने
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्ततः राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ ।

यो निर्णयसँगै नेपालले पुरुष र महिला फुटबल खेलाडीलाई समान पारिश्रमिक दिने विश्व फुटबलको सिमित राष्ट्रहरुको सूचीमा आफ्नो नाम लेखाउन पनि सफल भएको छ ।

एन्फाले पुरुष र महिला दुवै खेलाडीहरुको पारिश्रमिकमा बृद्धि गरेको हो । अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्मरण रहोस, पुरुषतर्फ ३ हजार रुपैयाँ तथा महिलातर्फ ११ हजार रुपैयाँ पारिश्रमिक बृद्धि गरिएको हो ।

महिला खेलाडीहरु उत्साहित

एन्फाको यो निर्णयसँगै महिला फुटबल खेलाडीहरु खुशी देखिएका छन् । त्यसमध्ये राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर साबित्रा भण्डारीले आफ्नो सामाजिक सञ्जालमा स्टेटस पोष्ट गर्दै यो हाम्रो लागि खुशीको कुरा भएको प्रतिक्रिया दिएकी छिन् ।

स्मरण रहोस, विभागीय क्लबहरुमा आवद्ध भए राष्ट्रिय टोलीमा रहेका महिला खेलाडीहरुलाई यसले थप फाईदा पुग्ने देखिएको छ । अब पारिश्रमिक बृद्धिसँगै विभागीय टोलीका खेलाडीहरुले मासिक रुपमा थप बढी पारिश्रमिक पाउने निश्चित छ ।

यो निर्णयसँगै देशमा रहेका अन्य महिला खेलाडीहरुलाई पनि फुटबलमा राम्रो गर्न थप प्रेरित बनाउने विश्वास एन्फाले लिएको छ ।

खेलाडीलाई प्रोत्साहित गर्न यो निर्णय – एन्फा

उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई प्रोत्साहित गर्न यो निर्णय गरिएको बताएको छ । यद्यपि महिला फुटबल टोलीले उपाधि जिते वापत पुरुष खेलाडीसरह समान बोनस रकम पाउँछन् वा पाउँदैनन्, त्यसबारे भने केही खुलाइएको छैन ।

Post Comments