
बेलबारी । झापा–११ फुटबल क्लब, झापा यहाँ जारी सातौं बेलबारी आरजु राईस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ झापाले भोजपुर जिल्ला फुटबल संघ, भोजपुरलाई शून्यका विरुद्ध ३ गोलको एकतर्फी अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
झापाको जितमा प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल निरज कार्कीले गरे । खेलमा झापा कै निरज कार्की खेलको म्यान अफ दि म्याच समेत चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत कार्तिक ५ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल चित्लाङ फुटबल क्लब, काठमाडौं र रारा फुटबल क्लब, राजारानी धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।
एलएक्स सिटी फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।