News उत्कृष्ट पूनरागमनका साथ सौभाग्य सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । कप्तान यामु राना नायक बन्दा सौभाग्य युवा क्लब बुटवलमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ सौभाग्यले हरिहरपुर एफसी विरुद्ध उत्कृष्ट पूनरागमन गर्दै पेनाल्टी शुटआउटमा ४–३ को जित हात पार्यो । बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलमा हरिहरपुरले सातौं मिनटमै बिमल श्रीसको गोलबाट शुरुवाती अग्रता लिएको थियो । तर खेलमा उत्कृष्ट पूनरागमन गरेको सौभाग्यका लागि कप्तान यामु रानाले दोस्रो हाफतर्फ ४६औं मिनटमा फ्रिकिक मार्फत सटिक गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । 

शुक्रबारको खेलको म्यान अफ द म्याच सौभाग्य कै कप्तान यामु राना घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल खेल बुटवल मिड टाउन र अमुवा एफसीबीच हुने खेल संयोजक आशिष मगरले जानकारी दिए । 

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ । 

Post Comments