रामपुर । झिनो अन्तरको जित निकाल्दै गन्नी फुटबल क्लब, पोखरा यहाँ जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न चौथो क्वाटरफाइनलमा गन्नीले देवदह ब्वाईज, रुपन्देहीलाई १–० को अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको खेलमा गन्नीका लागि सन्दिप राना मगरले एक मात्र निर्णायक गोल गरे ।
खेलमा प्लेयर अफ दि म्याच भने गन्नीका सुरज जिउ ठकुरी घोषित भए । गन्नीले अब शुक्रबार नै हुने दोस्रो सेमिफाइनलतर्फ २८ बिगाहा युवा क्लब, कावासोतीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । युनाइटेड युथ क्लब, नवलपरासी भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
ज्योतिपुञ्ज युथ क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने कार्तिक १० गतेका दिन हुने समेत अध्यक्ष गौतमले बताए ।